अन्डा नष्ट गर्दै ह्याचरी व्यवसायी




अन्डा नष्ट गर्दै ह्याचरी व्यवसायी
चितवन ।  कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने अन्डा नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने अन्डामध्ये आधा नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् ।
Image result for egg
ह्याचरी उद्योग संघ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले बुधबारदेखि सबै ह्याचरीले चल्ला उत्पादन गर्ने सेटर मेसिनमा आधा मात्रै अन्डा राख्ने निर्णय गरेको हो ।

देशभरमा १३ वटा लेयर्स ह्याचरी उद्योग सञ्चालनमा छन् । एउटा सञ्चालनमा आउने तयारीमा छ । जसमध्ये आठवटा चितवनमा छन् ।

१८ दिन सेटर मेसिनमा अन्डा राख्ने गरिन्छ । त्यसपछि तीन दिन ह्याचरी मेसिनमा राखेपछि अन्डाबाट चल्ला निस्कने गर्छ । गत महिनासम्म चल्ला प्रतिगोटा १७० रुपैयाँमा बिक्री भइरहेकोमा माग घटेसँगै ७० रुपैयाँमा समेत सहज बिक्री हुन छाडेपछि व्यवसायीले यस्तो निर्णय गर्नुपरेको बिसुरालले बताए ।

हाल लेयर्स चल्लाको लागत मूल्य सय रुपैयाँ पर्ने गरेको छ । उनका अनुसार उत्पादन घटाएर सय रुपैयाँमा नघटाई चल्ला बिक्री गर्ने निर्णयसमेत भएको छ । एक सातामा २ लाख ५० हजार चल्ला उत्पादन हुने गर्छ । यो मौसममा चिसो हुने भएकाले हुर्काउन कठिन हुने गर्छ ।

सँगै खानाका लागि प्रयोग हुने अन्डाको मूल्यसमेत घटेपछि चल्ला राख्ने कृषक घटेका हुन् । नेपाल अन्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर २ हजार हाराहारी लेयर्स कुखुरा पाल्ने किसान छन् ।

कँडेलले भने, ‘मलाई ३० हजार चल्ला चाहिएको छ, खोर खाली छ तर अन्डाको मूल्य देखेर चल्ला हाल्न सकेको छैन ।’ सबै किसानको अवस्था उस्तै रहेको छ । हाल ह्याचरीमा १ लाख हाराहारी लेयर्सका माउ (प्यारेन्ट) रहेको बिसुरालले बताए । अमेरिका र युरोपबाट माउ ल्याउने गरिन्छ । फार्मसम्म आइपुग्दा एउटा माउको १ हजार २ सय रुपैयाँ पर्छ ।


नेपालमा हाइल्यान, लोम्यान र एचएन जातको लेयर्स प्यारेन्ट पालिँदै आएको छ । २२ साताबाट अन्डा पार्न थाल्ने प्यारेन्टले ८० सातासम्म अन्डा पार्छ ।


No comments:

Post a Comment